डोजर चलेका तीन विद्यालय : कसरी हुँदैछ ५०० विद्यार्थीको पठनपाठन ?

२१ वैशाख, काठमाडौं । सोमबार बिहान १० बजे । श्री सरस्वती आधारभूत विद्यालय मनोहरामा अध्ययनरत विद्यार्थी र शिक्षकहरू मध्यपुर थिमि नगरपालिका–१ को सामुदायिक भवनमा भेला भए ।

विद्यार्थीहरू एकअर्कालाई सोधिरहेका थिए, ‘हाम्रो स्कूल किन भत्काएको ?’ त्यसको जवाफ कसैसँग थिएन । सरकारले खोला-नदी आसपासका सुकुमवासी बस्ती खाली गर्ने क्रममा मनोहराको आधारभूत विद्यालय पनि भत्काएको थियो ।

विद्यालय भवन भत्किएपछि पढ्नका लागि उनीहरू सामुदायिक भवनमा भेला भएका हुन् । १५ वैशाखबाट भर्ना र २१ गतेबाट पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुसार नै उनीहरू भेला भएका थिए । तर पढ्ने कक्षा कोठा थिएन ।

सोमबार बिहान हामी पुग्दा शिक्षकहरू कोठाको व्यवस्थापनमा जुटिरहेका थिए । कोही टेन्ट टाँगिरहेका थिए, कोही डेस्क-बेञ्च मिलाउँदै थिए । विद्यार्थीहरू पनि आफैं डेस्क-बेञ्च बोकिरहेका थिए ।

कतिपय अभिभावक विद्यार्थी भर्ना गर्न सामुदायिक भवनमै आइपुगेका थिए । ‘निजीमा पढाउन सक्दैनौं । कोठा नजिकैको विद्यालय हो, यही विद्यालयमा पढाउँछौं’ अभिभावक तिकमाया श्रेष्ठले भनिन्, ‘मेरा नानी-बाबु ६ र ७ कक्षामा पढ्छन् । टाढा लैजान सकिंदैन ।’

प्रधानाध्यापक इन्दिरा महत नगरपालिकासँग समन्वय गरिरहेकी थिइन् । बहुकक्षा सञ्चालन गर्ने गरी उनले दुई कोठा तत्कालका लागि सञ्चालनमा ल्याइन् ।

‘विद्यार्थीको पढाइ रोकिनुभएन । बहुकक्षा सञ्चालन गरेर भए पनि पढाउँछौं’ उनले भनिन्, ‘नगरपालिका र वडाध्यक्षसँग समन्वय गरिरहेकी छु ।’

केही कक्षाको लागि भने सामुदायिक भवनको प्राङ्गणमा नै टेन्ट टाँगिएको छ । प्राङ्गणमा नै डेस्क-बेञ्च राखेर पढाउने तयारी विद्यालयले गरेको छ ।

भर्ना र पढाइको लागि उनलाई अभिभावक र विद्यार्थीको बारम्बार फोन पनि आइरहेको छ । ‘बच्चा अन्यत्र जान मानेका छैनन् । वडा नम्बर १ मा यो एउटा मात्र सामुदायिक विद्यालय हो । मर्ज गर्न पनि समस्या छ । विद्यार्थी टाढा जाने अवस्था छैन’ उनले भनिन्, ‘सामुदायिक भवनमा पनि बच्चा हामीले बोलाएको होइन । आफैं आएका हुन् ।’

८ कक्षासम्म पढाइ हुने यो विद्यालयमा २७५ जना विद्यार्थी छन् । तर हाल भर्नाको लागि १७० जना आइपुगेका छन् । १५ जना शिक्षक यो विद्यालययमा कार्यरत छन् । विद्यालय भवन भत्काएपछि शिक्षक, अभिभावक र विद्यार्थी मारमा परेका छन् ।

Copyright © 2026 All Rights Reserved